मुख्य पृष्ठ
परिचय
हाम्रो अभिमत
कविता
गजल
कथा
व्यङ्ग्य–निबन्ध
कृतिसमीक्षा
निबन्ध
पुस्तकचर्चा
संवाद
समाचार
e-mail me


हाम्रो अभिमत

शताब्दीअघि प्रथमपटक नेपाली साहित्यका बहुमुखी प्रतिभा मोतीराम भट्टबाट छिमेकी देशको भाषासाहित्यबाट प्रभावित भएर नेपाली भाषामा गजल लेखनको सुआत भयो । त्यहीबाट आरम्भ भएको नेपाली गजल लेखन परम्पराले विभिन्न आरोह अवरोहहरू पार गर्दै वर्तमानसम्म आइपुगेको छ । प्रारम्भताका शृङ्गार परम्पराबाट आरम्भ भएको नेपाली गजल वर्तमानसम्म आइपुग्दा थुप्रै भङ्गालाहरूमा भङ्गालिइसकेको छ । यसैकारण गजल भन्नासाथ प्रेमी र प्रेमिकाको शृङ्गारिक नखशिख वर्णनमा सीमित रहेको नेपाली गजलले अहिले विस्तृति पाइसकेको छ । यद्यपि कोहीकोहीमा यस किसिमको भ्रमावशेष नपाइने भने होइन । तर पनि यसको फाँट निकै फैलिएको छ ।

बीचमा केही समयका लागि सुस्ताएको भए पनि केही वर्षयता पुनः गजलप्रतिको आकर्षण बढ्दो छ । कोही यसैमा समर्पित भएर लागिपरेका छन् भने कोही आफ्ना भावतुष्टिका लागि पनि सक्रिय छन् । वर्तमान युवापुस्ताका कतिपय सर्जकको ठूलो समूह नै गजल लेखनमा कम्मर कसेर लागेका छन् भने कोहीकोही आफ्नो उपस्थिति प्रकट गर्नकै लागि भए पनि यस क्षेत्रमा होमिएका छन् । लेखनको प्रारम्भिक चरणमा रहेकाहरूमध्ये कतिपय बुझेरै लागेका छन् भने कतिपयचाहिँ यसका शास्त्रीय विधिविधानको ज्ञानविनै पनि गजल लेखिरहेका छन् । यी विभिन्न परिवेशहरू फरक–फरक भए पनि एउटा कुराचाहिँ के सत्य हो भने आजको समयमा गजल लेखनमा एउटा ठूलो समूह क्रियाशील छ । यीमध्ये कोही सामूहिक र साङ्गठनिक रूपमै अग्रसर छन् भने कोही व्यक्तिगत रूपमा । जेजस्तो रूपमा भए पनि गजलप्रतिको वर्तमान आकर्षण चुलिँदो छ ।

सम्भवतः आफूभित्रको अटेसमटेस भावतरङ्गलाई सहज रूपमा सरल शब्दमा पनि पोख्न सकिने भएकैले गजलप्रतिको सम्मोहन बढ्दो छ । यसैकारण यसको सङ्ख्यात्मक सिर्जना ज्यामितीय गतिमा वृद्धि हुँदो छ । यसैबीचबाट एउटा अर्को आवाज पनि दरो रूपमा उठ्न थालेको छ कि यसको गुणात्मक विकास पनि हुनुपर्‍यो । यसैकारण गजलका लागि बाह्य संरचनामात्र आवश्यक नभई यसको आन्तरिक संरचना र सौन्दर्य पनि आवश्यक छ भन्ने कुरो उठ्न थालेको छ । यसबाट जसरी लेख्दा पनि गजल हुन्छ भन्ने भ्रमको तुवालो क्रमशः हट्दै गएको छ ।

फलतः गजल लेखनमा शास्त्रीय विधिविधान छ र त्यसको पूर्ण पालनाबाट मात्र सफल गजल लेखिन्छ भन्ने संज्ञान बढ्दो छ । परिणामस्वरूप शास्त्रीयताको ज्ञानविनै यस क्षेत्रमा लागिसकेकाहरू पनि आफ्नो सिर्जनकर्मलाई परिष्कार र परिमार्जन गर्दै सफल गजल लेखनमा आफूलाई प्रवृत्त गर्न प्रयासरत छन् । यसले गर्दा सफल गजलकारहरूको

एउटा ठूलो समूह भोलिको सम्भावनाको द्वार उघि्रने प्रतीक्षामा व्यग्रतापूर्वक पर्खिरहेका छन् । यो नेपाली गजलका लागि एउटा आशलाग्दो वर्तमान र भविष्य दुवै हो ।

गजल लेखनकै सन्दर्भमा केही समाधान गर्नुपर्ने प्रश्न पनि टड्कारो रूपमा विज्ञहरूका सामु देखा परेको छ । त्यसमध्ये यो छुट्टै अस्तित्व बोकेको विधा हो या पद्यविधाभित्रको उपविधा, यस सम्बन्धमा सबैको आआफ्नै मत हुन सक्ने कुरालाई किमार्थ अस्वीकार गर्न सकिँदैन । यसलाई छुट्टै विधाका रूपमा स्थापित गर्न लागेकाहरूले डोरी आफ्नैतिर तान्ने र होइन भन्नेहरूले आफूतिर तान्ने भइरहेछ । यो असल लक्षण पनि हो । यस बहसमा केवल आग्रह त्यागेर स्वस्थ रूपमा सरिक भई एउटा टुङ्गोमा पुर्‍याउने प्रयास होस् भन्ने चाहनासम्म व्यक्त गरिएको हो ।

प्रधान सम्पादक