लघुकथा
ढुकुर र कौवा
हरिप्रसाद भण्डारी
गुल्मी
जङ्गलमा कौवा, ढुकुर, कोइली, जुरेलीलगायत विभिन्न जातका चराचुरूङ्गीहरू बस्थे । वर्षा सुरू हुनुपूर्व सबैले गुँड बनाउँथे, फुल पार्थे र चल्ला कोरलेर हुर्काउँथे । उनीहरूको समूहमा बस्ने कौवा अलि धूर्त थियो । अन्य चराचुरूङ्गीहरू चारो खोज्न गएको मौका पारेर गुँडमा भएका फुल र साना चल्ला खाइदिन्थ्यो । यसले गर्दा चराचुरूङ्गीहरूलाई फुल कोरल्न र चल्ला हुर्काउन निकै कठिन भयो ।
एकदिन कौवा नभएको मौका पारेर चराचुरूङ्गीहरूले सल्लाह गरे । उनीहरूले कौवाले नदेख्ने ठाउँमा गुँड बनाउने सहमति गरे ।
रुरु रु रु
'ढुकुर कुर कुर कुर ... ... ।'
'कस्तो मीठो आवाज । सधैँ सुनिरहूँझैँ लाग्ने । अग्लो रूखको डालीमा बसेर आनन्दले कराइरहेको ढुकुरको छेउमा बस्दै कौवाले भन्यो ।
आफ्नो प्रशंसा सुनेर ढुकुर दङ्ग पर्यो अनि कौवातिर फर्केर, 'के मेरो आवाज त्यति राम्रो छ र,' भनी सोध्यो ।
'कोइलीको भन्दा पनि मीठो । आवाज पनि मीठो, रूप पनि राम्रो तर म त कस्तो अभागी । न आवाज मीठो छ न रूप नै राम्रो ।' विरक्त मान्दै कौवाले भन्यो ।
ढुकुरले एकोहोरो पाराले कौवालाई हेरिरहेको थियो । कौवाले निकै दुःखी भावमा अगाडि थप्यो, 'यो आवाज सधैँ सुन्न पाए पो ... । तर के गर्नु तपाईंहरू कहाँ बस्नुहुन्छ थाहै छैन ।'
'ऊ त्यै पल्लो खोलाको ठूलो रूखमा त हो नि ... ।' ढुकुरले दायाँबायाँ नसोची भन्यो ।