मुख्य पृष्ठ
परिचय
हाम्रो अभिमत
कविता
गजल
कथा
व्यङ्ग्य–निबन्ध
कृतिसमीक्षा
निबन्ध
पुस्तकचर्चा
संवाद
समाचार
e-mail me


  गजल

सुदेश सुवेदी

अनाम मण्डली

ममा ज्यून आशाहरू उत्तिकै छन्

म भित्रै निराशाहरू उत्तिकै छन् ।

 

जुवा–खालमा द्रौपदी बाजी जित्ने

अझै कप्टी पासाहरू उत्तिकै छन् ।

 

बग्यो खेतबाटै खुलेआम पानी

लुकेका निकासाहरू उत्तिकै छन् ।

 

नयाँ खेल के भ्याउनु हेर्नलाई

पुरानै तमासाहरू उत्तिकै छन् ।

गजल

खगेन्द्र दाहाल

आफन्तझैँ नजिक भै, चिल्ला कुरा गर्‍यौ 

भित्री कुरा बुझेपछि, डस्न अगि सर्‍यौ . 

 

आफू पछि पर्छु भन्ने, तिम्लाई डर रै'छ

जहाँसुकै दोषलाई, ठाडै आँखा तर्‍यौ . 

 

हिउँजस्तै चिसो रै'छ, तिम्रो भित्री मन 

समाजमा राम्रो हुन, केही कान भर्‍यौ . 

 

निर्धासोझा दबाउने, तिम्रो बानी रै'छ 

नानाभाँती कुरालाई, कर्मस्थल हर्‍यौ . 

 

विद्वत्वको पगरीमा, किन मोसो दल्यौ

आखिरीमा प्राप्ति के भो, उल्टै तल झर्‍यौ .
 

चार हाइकु

 

माधव निरौला 'विलासी'

जुरोपानी ३, झापा

शशी नियाल्दै 

निशासँग रातमा

गरिबहरू

घना जङ्गल

बीचको पोखरीमा

पौडिने माछा 

 

आलुबारीमा 

मुलाको खेती गर्‍यो 

झार पलायो 

फाटेको कापी

मेसिनमा कलमले 

लेख्न खोज्दै छ . 

 

यात्रारम्भ 

गजल

गिरीजाप्रसाद कोइराला 'मणि'

कुइभिर ७, ओखलढुङ्गा

 

भेट नहोस् भनेको थेँ रच्यौ तिम्ले जाल 

जोरीपारीबाट पाउनु पाएँ अवगाल ।

 

माया भन्ने कस्तो रै'छ पाउनु पाएँ हार 

निठुरीको विश्वास गर्दा भो आज बेहाल ।

 

नचाहँदानचाहँदै मन मोड्नुपर्‍यो 

बहाना बनाई लगायौ तिमीले ताल ।

गजल

रामगोपाल आशुतोष

 

 

मानवको बस्तीभित्र विनाशब्द ढलिरहेँ

आफ्नै आँगन चित्ता भयो जलिरहेँ जलिरहेँ ।

 

भित्रभित्रै ऐँठन हुन्थ्यो, आफन्तको प्रहारमा

निस्सासिन्थेँ यद्यपि म जसोतसो चलिरहेँ ।

 

आँधीबाट, हुरीबाट पराईझैँ आफ्नाबाट

प्रक्षेपित वेदनाका तीरहरू छलिरहेँ ।

 

केही झरेँ, केही गलेँ, प्रियजनको सताइमा

विश्वासको धरहरा दीपावली बलिरहेँ ।

 

हुन्थ्यो जलन प्रहारमा प्रेममलम लगाएर

द्वन्द्वबीच अभिमन्यु चक्रब्यूह चलिरहेँ ।

ashutoshg56@gmail.com
गजल

(सवाल)

सुमित्रा वाङदेल 'चेली'

दमक, झापा

 

 

पश्चिमबाट उदाउने घाम कस्तो होला,

धेरै देखेँ कृष्णहरू राम कस्तो होला,

 

देश हेर्छु उभिएर सुदूर पूर्वबाट

इलामले सोध्छ सधैँ अछाम कस्तो होला,

 

हाँगाबाट चुँडालेर फूल टिप्छन् यहाँ

झर्‍या फूल चढाउने घाम कस्तो होला,

 

मान्छे मात्छन् धन, मान, पद, प्रतिष्ठाले

नपिइकनै भात लाग्ने जाम कस्तो होला,

 

गजल

(जवाफ)

रावल कृष्ण

अछाम

 

 

पूर्वपश्चिम उदाउने घाम उस्तै त हो

नियतिले लखेटेको राम उस्तै त हो ।

 

काँडा हाँस्छ झर्दा दुख्छ मेरो पाइलासँग

रोग, भोक, शोक, प्यास अछाम उस्तै त हो ।

 

मनको ईश्वर कहाँ खोज्छ फूलप्रसाद टिका

पूजा गर्ने भइगो मनको घाम उस्तै त हो ।

 

कलम छ नि हामीसँग किताब मधुशाला

अक्षर पिई मातौँ हामी जाम उस्तै त हो ।

गजल

जीत कार्की

 

चिरे धर्ती, फुटाए चाँद के भन्नू  

अहो ! कस्तो बढ्यो उन्माद के भन्नू ।  

 

भयो धरमर कठै ! हामी बसेको घर

लडेका थाम एक्लो काँध के भन्नू ।  

 

थिए जो काख औ मातृत्वका धारा

गरे कब्जा, लगाए साँध के भन्नू ।

 

म ठान्थेँ जो धरोहर हुन् भरोसाका

उनै पो झन् बने जल्लाद के भन्नू ।  

 

गजल

टङ्कप्रसाद चौलागाईं

 

नानु निकै पर भयौ अलि वर सरिदेऊ

मग्मगाउँदै बास्नाले सोह्र शृङ्गार गरिदेऊ ।

 

आँखा तर्दै, रिसाउँदै, तकियालाई अठ्याउँदै

प्रेमीको स्वागतार्थ पलङछेउ झरिदेऊ ।

 

थाकेको यो शरीर सम्पूर्ण सुम्पिदिन्छु

मनभित्रको प्रेमाग्नि चारैतिर छरिदेऊ ।

 

पन्चेबाजा, डोली चढ्दा कति राम्री देखिएकी

त्यही लुगामा सजिएर सिउँदो रातै भरिदेऊ ।

artisttanka@gmail.com