समीक्षा
प्रेमी मनका प्रेमिल तरङ्गहरू
गीता लामिछाने
एउटा पुस्तकका बारेमा धेरै प्रशंसा सुने पनि पढ्ने अवसर मिलेको थिएन । त्यो कसरी पढूँ भन्ने उत्सुकता मनमा जागेको थियो । हेर्दा सुन्दर आवरणको मोटो पुस्तक थियो । मूल्य त्यति धेरै त होइन तर विक्रीकक्षमा जाँदा ब्यागमा पैसा हुँदैन । मन खुम्च्याएर बसेकी थिएँ । केही दिनअगाडि पुस्तकका सर्जकको हातबाट उक्त पुस्तक पाएँ । मन भित्रभित्रै खुसी भयो । लेखकलाई धन्यवाद दिएँ । घर पुगेर पढ्न बसेँ । पुस्तक हो दामोदर पुडासैनी 'किशोर'को, 'यात्राका प्रेमिल तरङ्गहरू' । पूरा एकदिनभरिमा पुस्तक सिनित्त पिएँ ।
साह्रै राम्रो लाग्यो । मैले लेखकलाई राम्रोसँग चिनेकी रहिनछु झैँ भएँ । 'किशोर' का कवितासङ्ग्रहहरू 'आफन्तका अनुहार', 'आँखाको खोजीमा', 'आकारको खोजीमा', 'आलोकित आयाम' सबै पढेकी थिएँ । यसबाहेक गजल, हाइकु, निबन्ध, कथाजस्ता विविध सिर्जना पढिरहन्थेँ । एकाएक बृहत् यात्रासंस्मरण देख्दा म चकित थिएँ । पढ्दा थाहा पाएँ उनी कुशल गद्यकार पनि रहेछन् । उसै पनि यात्रासंस्मरण मेरो रूचिको विषय हो । पाएसम्म नियात्रा साहित्य खोजीखोजी पढ्छु तर सबैको लेखनशैली मिठो हुँदैन । भीष्म उप्रेतीको 'तेहरान डायरीको एक साता' कलाधर काफ्लेको 'बेलायततिरका तीस पाइला', इल्या भट्टराईको 'लरबशको यात्रा' पनि आँखा झमिक्क नपारी पढेकी थिएँ ।
वास्तवमा कलाकौशल र काव्यशक्तिले धेरै जीवन सफल बने । साहित्यिक विकासको आजको होडबाजीको समयमा सामान्य पुस्तक प्रकाशन गर्नु केवल आत्मसन्तुष्टिसिवाय केही हुँदैन । अबको साहित्य समयसापेक्ष सरल, नयाँ सोच र उत्कृष्ट शैलीसहितको हुनै पर्छ । यही उद्देश्यअनुरूप रोचक पुस्तक प्रकाशन भएको रहेछ । यसमा जम्मा ३२ ओटा यात्रानिबन्ध सङ्कलित छन् । मृदु भाषामा अमेरिकी तथा युरोपीय मुलुकका प्रमुख स्थलको वर्णन गरिएको छ । विदेशमा रहेका कूटनीतिक कार्यालयको लेखापरीक्षण गर्ने सिलसिलामा मिलेको यात्राको अवसरलाई साहित्यमा ढालिएको छ । साहित्यकारको सोच, समयको सदुपयोग, देशप्रेम, यात्रामा तरङ्गित मन केलाउँदा रूखको अन्तरमा झुलेको सुनाखरीजस्तो लाग्छ ।
लेखन त यस्तो पो ! म आफैँले पनि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियम, रसियाको भ्रमण गरेको छु तर अग्ला महल, विद्युतीय प्रकाश हेरेर फर्किन्थेँ तर यस पुस्तकमा देखाइएका सांस्कृतिक, पुराताङ्खिवक, साहित्यिक र विकासका चित्रहरूबाट आजको विश्व छर्लङ्ग हुन्छ ।
वास्तवमा प्रेमिल मनले काँडालाई पनि सम्मान गरेको हुन्छ । प्रेमभावको प्रतिबिम्ब मानवीय जीवन हो । सफल मानवीय जीवनमा प्रेमका तरङ्गहरू झङ्कृत भइरहन्छन्, लहर छुटिरहन्छन् । यस सङ्ग्रहमा प्रेमी मनको बग्दो छटा समेटिएको छ । लेखकीय भाषा प्रत्यक्ष वर्णनमा छ । यो दैनिक लेखिएको हुनुपर्छ नत्र कसरी सम्भव हुन्छ प्रत्यक्ष वर्णन गर्न ।
लेखक जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ आफ्नो देशको झरना, खोरिया, फाँट, डाँडाको सम्झना गर्छन् । लेखक देशलाई धेरै माया गर्छन् । पाठकलाई यो शैली रोचक लाग्छ । जस्तै, 'म ब्यूँझँदा एम्पाएर स्टेट नामक विशाल र अग्लो टावरसँगै पूरै म्यानहटन सहर रङ्गीचङ्गी बत्तीहरूमा जागा भइरहेको थियो । सडकमा निर्वाधरूपमा दिउँसोजत्तिकै सवारी साधनहरू गुडिरहेको देख्दा मलाई स्वयम्भु र कीर्तिपुरको डाँडोमा बत्ती बलिरहेको दृश्यको याद आइरहन्थ्यो ।' यसरी नै कालीगण्डकीको सेरोफेरो, फेवाताल आदिको वर्णन पनि छ । 'अनि हाम्रो देशको धरहराजस्तै रहेछ एम्पाएर स्टेटको बिल्डिङ ।' यस्तो वर्णन पढ्दा लेखकले सिङ्गो देश बोकेर गएको भान हुन्छ । यसैले होला, कुमार कोइरालाले 'दामोदरले यात्रामा देश लिएर गएका छन् फर्किंदा विदेश बोकेर आएका छन्' भन्नुभएको छ । यहाँ अनिवार्य बुझ््नुपर्ने विदेशी संस्कार, यान्त्रिक विकास, ह््वाइटहाउस, लाइब्रेरी अफ काङ्ग्रेस, नेसनल ग्यालरी अफ आर्ट, विचित्रताका प्रतीक, स्मारकहरू, युद्धका अवशेष यी सारा कुराको प्रत्यक्ष वर्णन छ । आधुनिक विश्वको सचित्र वर्णन गरिएको बृहत् पुस्तक सापेक्षिक छ । 'मेरो जीवनमा बेलायतको पहिलो बिहान उभियो । मस्को फर्किंदा रेसासँग मिसिएर उडूँ जस्तो लाग्यो । त्यसदिन मस्कोभर घामलाई प्रतिबन्ध लगाइएको थियो ।' यस्ता साहित्यिक पङ्क्तिले पुस्तक भरिएको छ । यात्रामा यति बिघ्न साहित्य कसरी र कति बेला प्रफुस्टन भयो, कृति असम्भव जस्तो पनि लाग्छ । भीमनिधिले भनेजस्तै पछाडिबाट हेर्यो पछाडिबाट राम्री, अगाडिबाट हेर्यो अगाडिबाट राम्री । चकित छन् लेखक जेनेभा पुग्दा । जेनेभा घाम लाग्दा पनि सुन्दर, घाम नलाग्दा पनि सुन्दर । उसै त साहित्य छटामा डुबुल्की मारेको मन, झन् गुलाब बगैँचाको छेउमा लमतन्न सुतेको नीलो तालको पानी, जहाँ पुग्दा मरेकाको पनि मन तैरिन्छ डुबेकाको तन पनि तैरिन्छ । जिन्दगीदेखि भागेकाहरू जेनेभा पुगेपछि नयाँ खेती थाल्दछन् । वरिपरिका काठमा जीवनलाई भारका रूपमा नहेरी हिउँका भुवाझैँ हल्का र सफेद देख्न थाल्छन् ।
'ब्लँ हिमालमा बेस्सरी हिउँसँग लाप्पा खेल्न पाइयो । म त्यहीँ लडीबुडी गर्थें, उफ्रिन्थेँ, चिप्लिन्थेँ खुसी नै खुसी थियो साँच्चै आमाको काखमा लुटपुटिएको अनुभव गर्थें ।' पुस्तकका पङ्क्तिहरूले विश्व छामछाम छुमछुम गराउँछन् । होइन, रातभरि सुत्नु हुन्न कि दामोदरजी, रातभरि लेखिरहेको छनक पाएको छु । यात्राका सहभागी मित्रले भन्नुको अर्थ निकै परिश्रम र लगनको फल हुनुपर्छ पुस्तक । वास्तवमा दुख्नु मानवता हो, भिज्नु साहित्य हो । ढुङ्गाहरू दुख्दैनन् त्यसैले भिज्दैनन् । यस भाषामा भन्नुपर्दा दामोदर पुडासैनी 'किशोर' साहित्यिक मनले संसार छाम्न सफल छन् । उनको साहित्यप्रतिको आहुति र बलिदानलाई सबैले आत्मसात गर्नु जरूरी छ ।
damopuda567@hotmail.com
'भानु'का सम्पादक, साहित्यिक पत्रकार एवं प्रगतिशील साहित्यकार भवानी घिमिरेको निधन भएको दुःखद अवसरमा शोकसन्तप्त परिवार एवं आत्मीय जनहरूमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
शब्दाङ्कुर परिवार