समाचार
अभिनन्दन
सम्माननीय राष्ट्रपति रामवरण यादवबाट १९६ औँ भानुजयन्तीको अवसरमा साहित्यकार दैवज्ञराज न्यौपानेको सार्वजनिक अभिनन्दन गरियो । सभ्यता र संस्कृतिको निर्माणमा भाषा र साहित्यको योगदान हुने कुरा बताउँदै राष्ट्रपतिले हाम्रो देश बहुभाषा सम्पदाले सम्पन्न छ भने । उनले अन्य भाषाभाषीलाई जोड्ने नेपाली भाषाको संवर्द्धनका लागि सामूहिक प्रयत्न जरूरी छ भने । आज हामी नेपाली राष्ट्रियतालाई मजबुत बनाउँदै राष्ट्रनिर्माणमा जुटेको अवस्थामा पारस्परिक सद्भाव र सहिष्णुता अपरिहार्य छ । जातीय र क्षेत्रीय अतिवाद उठेका बेला साहित्यले सामाजिक सद्भाव अभिवृद्धिका लागि प्रयत्नशील हुनुपर्छ भन्दै उनले साहित्यमा योगदान पुर्याएका दैवज्ञका कवितामा प्रजातन्त्र, राष्ट्र, राष्ट्रियता, अध्यात्मका साथै बालसाहित्य र प्राध्यापनमा समेत योगदान छ भने । राष्ट्र र जनतालाई साहित्यले एकताको सूत्रमा बाँधेको हुन्छ भन्दै न्यौपाने प्रेरणाका स्रोत बनून भन्ने इच्छा राष्ट्रपतिबाट प्रकट भयो ।
न्यौपानेका गीतिकवितासङ्ग्रह 'सिर्जनाको लहर' (२०३५), बालकवितासङ्ग्रहहरू 'तोतेबोली' (२०३८), 'गाउँखाने कविता' (२०४३), 'बालसंसार' (२०५३), 'सबै हाम्रा साथी' (२०५६), 'घामले ढोका खोल्यो' (२०६५)217 बालजीवनीसङ्ग्रह 'हुने बिरूवाका चिल्ला पात' (२०४५)217 कवितासङ्ग्रह 'जोरमुरली' (२०४६)217 समालोचनाहरू 'गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन' (२०४९), 'नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू' (२०५४)217 खण्डकाव्यसङ्ग्रह 'सम्झनाको धरातलबाट' (२०६३) र शिशुगीतसङ्ग्रह 'पोल्टाका गीतहरू' (२०६५) प्रकाशित छन् ।
२००४ साल मङ्सिर ३० गते मङ्गलबारका दिन भोजपुरस्थित गोगनेमा जन्मिएका न्यौपानेको साहित्यिक व्यक्तित्व कवि, गीतकार, जीवनीकार, कथाकार, निबन्धकार, समालोचक, भूमिका लेखक, सम्पादक, विभिन्न साहित्यिक सङ्घसंस्थाका सल्लाहकार परामर्शदाताका रूपमा विभक्त छ भने साहित्येत्तर व्यक्तित्व प्राध्यापक, प्रशासक, समाजसेवी आदि रूपमा छ । न्यौपाने अहिलेसम्म 'युवा वर्ष मोती' (२०४२), 'बालहितकारी' (२०४९), 'गुणराज व्याख्यान' (२०४९), 'बालसाहित्य' (२०४९), 'भारती खरेल व्याख्यान' (२०५४), 'छिन्नलता सम्मान' (२०५५), 'दीपस्मृति सम्मान' (२०५७), 'छिन्नलता विशेष सम्मान' (२०६२), 'उदयानन्द' (२०६४), 'प्रतिभा' (२०६५), 'स्रष्टा सम्मान' (२०६५), 'लिटिल एन्जेल्स' (२०६५), 'भी. एस. निकेतन' (२०६५), 'नरेन्द्र वाङ्मयनिधि' (२०६६) जस्ता पुरस्कार तथा सम्मानले सम्मानित भइसकेका छन् ।
साधारणसभा
अनाम मण्डलीको सम्पन्न प्रथम साधारणसभाबाट अध्यक्षमा घनेन्द्र ओझा, उपाध्यक्षमा बलराम दाहाल, कोषाध्यक्षमा रूपक अलङ्कार, सचिवमा विभोर बराल, महासचिवमा जनक पौडेल र सदस्यहरूमा प्रभाति किरण, जय गौडेल, रश्मि असफल, पार्वती भण्डारी, माधव खतिवडा, ज्ञानु विद्रोही, रबिका भण्डारी, घनश्याम पथिक, विकास प्रहर, सुरेश सुवेदी र जीत कार्की छानिए । सोही अवसरमा घोषित १६ बुँदे 'गजल परिष्कार अभियान' : (१) अनाम मण्डली आजैका मितिदेखि गजल परिष्कार अभियान घोषणा गर्दछ, (२) गजल छुट्टै अस्तित्व बोकेको अलग्गै र स्थापित साहित्यिक विधा हो, (३) गजलका आधारभूत संरचना (आन्तरिक र बाह्य दुवै) को पूर्ण पालना गरिनुपर्दछ, (४) गजल गेय विधा हो, गाइने, लेखिने र छापिने गजल छुट्टाछुट्टै हुँदैन । यसर्थ गजलमा लय अनिवार्य तङ्खव हो, (५) हरेक गजल सर्जकमा लयको ज्ञान आवश्यक छ । बहरमा लेख्ने या स्वतन्त्र लयमा लेख्ने भन्ने कुरामा सर्जक स्वतन्त्र छ तर लयमा चाहिँ गजल लेखिनै पर्छ, (६) प्रयोगका नाममा भित्रिएको अश्लील र अराजक शैली र प्रस्तुतिप्रति अनाम मण्डली सहमत छैन, (७) राज्यका अङ्गका रूपमा रहेका प्राज्ञिक निकाय र प्रकाशनगृहबाट गजललेखनलाई प्रोत्साहन हुने क्रियाकलाप सञ्चालन गर्न माग गर्दछ, (८) विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्मको पाठ्यक्रममा गजललाई समावेश गरिनुपर्छ, (९) रेडियो नेपाललगायतका सरकारी विद्युतीय र सञ्चारमाध्यममा गजल गायन र रेकर्डिङको माग गर्दछ, (१०) अहिलेसम्म सिर्जना गरिएका गजल र गजलकारलाई सम्मान गर्दै नयाँ सर्जकलाई प्रोत्साहन गर्नु अनाम मण्डली दायित्व ठान्दछ, (११) नेपाली साहित्यमा देखिएका गुट/उपगुटको अपसंस्कृतिको विरोध गर्दै सर्जक एकताको आह्वान गर्दछ, (१२) विभिन्न राष्ट्रिय भाषामा गजल सिर्जनालाई प्रोत्साहन गर्नु अनाम मण्डली कर्तव्य ठान्दछ, (१३) नेपालबाहिर बसेर नेपाली भाषामा गजल सिर्जना गर्नेहरूलाई नेपाली गजलको इतिहासमा समेट्नु अनाम मण्डली आवश्यक ठान्दछ, (१४) राम्रो सिर्जना गरेर पनि प्रकाशन गर्न नसकिरहेका स्रष्टाहरूलाई कृति प्रकाशनका लागि सहयोग गर्नु कर्तव्य ठान्दछ, (१५) गजल गायनलाई प्राथमिकता दिनु दायित्व ठान्दछ र (१६) नेपाली गजललाई यहाँसम्म ल्याइपुर्याउने सम्पूर्ण सर्जकप्रति श्रद्धा र सम्मान व्यक्त गर्दछ ।
स्मृतिसभा
स्वर्गीय पुष्कर आचार्यको स्मृतिमा ग्रिनविच एकेडेमी, पेप्सीकोलाद्वारा प्रिन्सिपल गोविन्द कार्कीको सभापतित्व, वैरागी काइँलाको प्रमुख आतिथ्य तथा राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) एवं ल73मण गाम्नागेको आतिथ्यमा आयोजित प्रतियोगितात्मक अन्तरविद्यालय कविगोष्ठीमा प्रभा गौतम, इनेशा भट्टराई, दीपिका कार्की, शङ्कर दाहाल, अनुराधा तिमल्सिना, रिजु दाहाल, सञ्जय सेढाइँ, भुवन कार्की, दीपेन्द्र नेपाल, नितेश अधिकारी, अनुराग धमला, शर्मिला घिमिरे, सम्राट् प्याकुरेल र सञ्जु कुइँकेलले भाग लिएकोमा अनुराधा तिमल्सिना, प्रभा गौतम र सञ्जय सेढाइँ क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
अन्तरक्रिया
काठमाडौँ । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ 'रोदन'को सभापतित्व परशु प्रधान, कुमारप्रसाद कोइरालाको आतिथ्यमा गोरखबहादुर सिंहद्वारा लिखित लघुकथासङ्ग्रह 'नगरसभाको पाच्ाौँ दिन'उपर सम्पन्न अन्तरक्रियामा समाजका सदस्य रवीन्द्र समिरले स्वागतभाषण र अतिथिहरूले कृतिको समीक्षा गर्नुका साथै कृष्ण शाह 'यात्री', सिन्धु गौतम, पवन आलोक, कृष्णदीप सिग्देल, धीरकुमार श्रेष्ठ, श्रीबाबु कार्की 'उदास'ले विभिन्न टिप्पणी गरे ।
मोती जयन्ती
ब्रसेल्स । अनेसास बेल्जियम च्याप्टरको आयोजना कृष्ण बजगाईंको अध्यक्षता तथा डा. देवेन्द्र बजगाईंको प्रमुख आतिथ्यमा सम्पन्न १४४ औँ मोती जयन्तीका अवसरमा कविहरू कृष्ण बजगाईं, विमल गिरी, जे. बि. शेर्पा, क्यामी, परमानन्द सापकोटा, कैलाश मैनाली, सञ्जु बजगाईं, राजकुमार पुडासैनी, दीपकज्योति पौडेल, पुष्पा बजगाईं र बालप्रतिभा निश्चल गिरीले आफ्ना कविता, गीत, हाइकु, गजल आदि वाचन गरे । राजकुमार पुडासैनीको उद्घोषणमा सम्पन्न कार्यक्रममा कवि दीपकज्योति पौडेल, प्रमुख अतिथि डा. देवेन्द्र बजगाईं, अर्जुनकुमार श्रेष्ठ, तेजेन्द्र कँडेललगायत बेल्जियन कवि क्यामीले मोतीराम भट्टको सङ्क्षिप्त जीवनीका विषयमा प्रकाश पारे ।
निधन
काठमाडौँ । 'भानु'का सम्पादक, साहित्यिक पत्रकार एवं प्रगतिशील साहित्यकार भवानी घिमिरेको ८० वर्षको उमेरमा निधन भयो । घिमिरेका 'आत्मज्वाला', 'नानी', 'स्मृतिका रेखाहरू', 'भवानी घिमिरेका कविताहरू' आदि कृति प्रकाशित छन् । 'नवयुग' र 'प्रकाश' साप्ताहिकको सम्पादन गरिसकेका घिमिरे 'बालचन्द्र शर्मा', 'साहित्यिक पत्रकारिता', राष्ट्रिय प्रतिभा', 'गोपाल पाँडे' जस्ता पुरस्कारहरूबाट पुरस्कृत थिए । उनले २००८ देखि झापाबाट साहित्यिक पत्रकारिता सुरू गरेका थिए ।