निबन्ध
ठूलो को ?
कृष्णप्रसाद घिमिरे
समाज जति विकसित हुँदै छ, त्यति मानिसको चिन्तनमा पनि परिवर्तन देखिँदै छ । संसारको विकसित प्राणीमा पर्ने मनुष्यलाई अरू प्राणीभन्दा सर्वश्रेष्ठ बनाउन उसको चिन्तन र निरन्तर अभ्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । ऊ अरूभन्दा विशिष्ट हुन चाहन्छ । मनुष्यको यो चाहनाले गर्दा धेरै हन्डर र ठक्कर खान परेको छ । समय गतिशील छ । ग्रहहरू आआफ्नो गतिमा अविरल गतिशील छन् । यही निरन्तताभित्र एउटा 'नियमित आकस्मिकता' छ । यसले हिजोको बिहान, आजको बिहान र भोलिको बिहानमा हुने ग्रहको भिन्नतालाई देखाइरहेछ ।
सामान्य मानिसलाई प्रत्येक दिनको बिहानी एउटै जस्तो लाग्छ । उही उज्यालो, उही सूर्योदय, उही वार र वर्षहरूको क्रमतर विशेष मानिसलाई सधैँको बिहान एउटै लाग्दैन । एउटै हुने भए वर्षा र गर्मीको भिन्नता हुने थिएन । जाडोको बिहान र गर्मीको बिहानमा देखिने प्राकृतिक भिन्नता पनि रहने थिएन । जब प्रकृतिले आफ्नो गतिमा परिवर्तन भएको देखाउँछ, तब हामीले एउटै हो भन्ने चिन्तन राख्नु नै त्रुटिपूर्ण ठानिन्छ ।
नेपालको गाउँले समाज संयुक्त परिवारको अवस्थामा छ । त्यसैले हरेकका हजुरबाआमाहरूले नातिनातिनीहरूलाई 'ठूलो बन' भनेर सिकाउँछन् । मलाई सानो छँदा 'ठूलो बन्नू' भनिएको थियो । त्यतिबेला म आफ्नै धूनमा मस्त रहन्थेँ । यिनीहरूले मलाई अग्लो र ठूलो जीउको मान्छे बन भनेका होलान् भन्ने ठान्थेँ । वास्तवमा उनीहरूको आशय त्यस्तो होइन रहेछ । पढाइलेखाइ गरेर समाजको सम्मानित व्यक्ति बन भनेको रहेछ । गाउँमा ठूलो मान्छे भनेको तत्कालीन प्रधानपञ्च वा विद्यालयको शिक्षकलाई मानिन्थ्यो । मलाई पनि त्यस्तै बन्ने रहर लाग्यो । बी.ए. उत्तीर्ण गरिसक्दा त्यो सोचाइ पूरै परिवर्तन भयो । देश चलाउने राजनेता पो ठूला मानिँदा रहेछन् भन्ने लाग्यो । एम.ए. उत्तीर्ण गर्दा नयाँ रहस्य पत्ता लाग्यो । राजनेतालाई घुमाउने वरिष्ठ कर्मचारी हुँदा रहेछन् । ममा पनि हजुरआमाको आज्ञाले त्यतैतिर लाग्ने इच्छा जागृत गरायो ।
कुरो बुझ्दै चुरो फेला पार्न के लागेको थिएँ, घूस नखाने र नखुवाउने मानिस ठूलो कर्मचारी बन्ने रहेनछ । यस्तो थाहा पाएपछि लोकसेवाको तयारी च्यात्त छोडेँ र घूस नखाई ठूलो मान्छे बन्ने ठाउँ खोज्नतिर लागेँ । समुद्रको पीँधमा सियो खसेको भए भेटाउन सजिलो हुन्थ्यो तर मलाई ठूलो के हुन्छ, छुट्ट्याउन सारै असजिलो भयो । विद्यार्थीका लागि विद्या ठूलो, जागिरेका लागि पद ठूलो, नेतालाई पद सम्मान ठूलो, विद्वान्का लागि मान ठूलो, गरिबका लागि धन ठूलो, समाज बदल्नेका लागि विचार ठूलोलगायत217 यति धेरै ठूला कुरा हुँदा रहेछन् । मलाई छुट्ट्याउनै गाह्रो भयो । धेरै घोत्लिएपछि पैतालाको बल तालुसम्म पुर्याएर खोज्दा बल्ल जूनकीरीको जस्तो उज्यालो देखा पर्यो । जसलाई जे कुरोको नित्तान्त आवश्यकता छ, त्यसलाई त्यही वस्तु ठूलो मानिने रहेछ ।
सबै मानिसलाई चाहिने गाँस, बास र कपास नै ठूलो मानिने रहेछ । यी कुराको पूर्ति भएकाहरूलाई उनीहरूको चाहना, उद्देश्य र ल73यमा पुर्याउने वस्तु नै ठूलो ठहरिने रहेछ । यसरी विचार गर्दा दुईप्रकारका ठूला कुरा हुँदा रहेछन् । एक, सबैलाई अत्यावश्यक पर्ने कुरा217 दुई, कसैकसैलाई मात्र चाहिने कुरा । अब फेरि मलाई 'खाई नपाई छालाको टोपी लाई' भनेजस्तै यी दुईमा ठूलो केलाई मान्ने, समस्याले च्याप्प घाँटी अठ्यायो । 'बल्ल पर्यो निरमाया माकुरी जालैमा' भनेझैँ भएँ । पहिला पढेपछि ठूलो भइन्छ भनेर मरीमरी पढेको217 अहिले एम.ए. उत्तीर्ण गरी जागिर नखाई गाउँघरमा जाँदा म उनीहरूका आँखामा स्वात्तै सानो भएछु । पढेर मात्रै ठूलो भइने रहेनछ भन्ने कुरा त्यतिबेला मात्रै चाल पाएँ । उनीहरूको आँखामा म उपेक्षाको पात्र भएँ ।
मसँग आफ्ना बाउले कमाएको गाँस, बास र कपास थियो ! थिएन भने जागिर मात्रै थिएन । त्यसैले गाउँमा नबसी हान्निएँ सहरतिर । धेरै सङ्घर्ष गरेर जागिर पाएँ । केही नसोची ट्याप्पै समातेँ । अब अरूले मलाई ठूलो मान्लान् नि भन्ने सोचेर दसैँमा गाउँ गएँ । सबैले कति पैसा ल्याइस् भनेर पो सोध्न थाले । मैले पनि नढाँटी सबै भनिदिएँ । उनीहरूले मलाई 'मास्टरमात्रै भइस् !' भनेर खिसि्रक्कै पारे । कत्रो सान हुन्छ भनेको । केको सान र मान, उनीहरूको मनमा रहेको अपमानमात्रै देखियो । अस्थायी जागिर भएकोले स्थायी हुँदा राम्रो मान्नेछन् भन्ने सोचेको थिएँ । त्यो पनि अर्को साल गाउँ जाँदा होइन रहेछ भन्ने थाहा भयो ।
मनमा सधैँ हजुरआमाले 'ठूलो बन्नू' भनेको सम्भि्कन थालेँ । उहाँको सोचाइ के थियो होला भनेर विचार गर्दै थिएँ, 'के ठूलो मान्छेझैँ घोरिएर बसेको, काम गर्न पर्दैन,' मलाई माया गर्नेले एक्कासि झपार्दा बल्ल झल्याँस्स भएँ । खुरूखुरू काम गर्नु नै ठूलो मान्छे बन्ने अभिप्राय हो भने बिनसित्ती किन टाउको दुखाउने, लागेँ म आफ्नो कामतिर । फटाफट दुईचारओटा काम फत्ते गरेँ । यसरी काम गर्दा अरू काम गर्ने साथीहरू फेला परे । मेरो जस्तै उनीहरूको पनि अवस्था रहेछ । त्यसैले कामको प्रकृति हेरी कहिले एक्लै र कहिले सँगै भएर काम गर्न थाल्यौँ । स्वभावैले काम गर्दा फुर्सद हुने कुरै भएन । सधैँभरि कामको चटारो हुन थाल्यो । जति काम गर्यो, उति धेरै काम आइलाग्ने मात्र होइन, नयाँनयाँ सोचाइको विकास भयो । कामै नपाउने मान्छे, कामअनुसारको दाम नहुने भए ठाडै काम गर्दैनौँ भनेर अगाडि बढ्न थाल्यौँ । यसरी काम गरेको गरेकै गर्दा केही दाम, थोरै नाम र आंशिक सम्मान पनि हुन थाल्यो । साथीहरूले पनि 'अचेल तिमी ठूलो मान्छे भए जस्ता छौ । फुर्सदै देखिँदैन भन्दा बल्ल होस खुलेको जस्तो भयो ।
आखिर काम नै ठूलो हो भने किन मानिसहरू कामलाई सानोठूलो भनेर छुट्ट्याउँछन्, जर्मन, जापान र अमेरिकामा मात्र होइन चीन, फ्रान्स र बेलायतमा पनि काम गर्नेलाई सम्मान गरिन्छ भन्ने सुनेको छु । विकसित देशले केही नसोची संस्कृति बनाउन्नन् । हामीजस्ता अल्पविकसितले मात्रै परम्पराका थोत्राथाङ्ना विचार बोकेर श्रमलाई सम्मान नगर्दा शक्तिको सदुपयोग नभएको रहेछ । व्यक्तिले क्षमताअनुसारको काम गरिरहे आफ्नो क्षेत्रको ठूलो मान्छे हुइने रहेछ । डाक्टरहरूको ठूलो डाक्टर, इन्जिनियरहरूको ठूलो इन्जिनियर, मास्टरहरूको ठूलो मास्टरमात्र होइन, किसानहरूको ठूलो किसान र मजदुरहरूको ठूलो मजदुर पनि त्यही मान्छेमात्रै हुने रहेछ, जसले आफ्नो कामलाई निरन्तर गरिरहन्छ ।
काम नगर्ने र ठग्ने बानी हामीलाई कसले सिकायो, अचेल म त्यतातिर घोत्लिन थालेको छु तर मलाई को मान्छे ठूलो वा के काम ठूलो भन्ने समस्याले भने फिटिक्कै सताउँदैन । जसले जिम्मेवारीपूर्वक आफ्नो काम गर्छ, त्यही ठूलो मानिने रहेछ । त्यसले समयको गतिलाई चिनेर त्यसको सदुपयोग गरिरहेको हुन्छ र सम्मानको अधिकारी बनेको हुन्छ । कुरो छर्लङ्ग भयो । के यस्तो समस्याले तपाईंलाई पनि सताउने गरेको छ , छ भने यसो घोत्लिनुपर्ला कि <