मुख्य पृष्ठ
परिचय
हाम्रो अभिमत
कविता
गजल
कथा
व्यङ्ग्य–निबन्ध
कृतिसमीक्षा
निबन्ध
पुस्तकचर्चा
संवाद
समाचार
e-mail me


    निबन्ध

ठूलो को ?

कृष्णप्रसाद घिमिरे

 

समाज जति विकसित हुँदै छ, त्यति मानिसको चिन्तनमा पनि परिवर्तन देखिँदै छ । संसारको विकसित प्राणीमा पर्ने मनुष्यलाई अरू प्राणीभन्दा सर्वश्रेष्ठ बनाउन उसको चिन्तन र निरन्तर अभ्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । ऊ अरूभन्दा विशिष्ट हुन चाहन्छ । मनुष्यको यो चाहनाले गर्दा धेरै हन्डर र ठक्कर खान परेको छ । समय गतिशील छ । ग्रहहरू आआफ्नो गतिमा अविरल गतिशील छन् । यही निरन्तताभित्र एउटा 'नियमित आकस्मिकता' छ । यसले हिजोको बिहान, आजको बिहान र भोलिको बिहानमा हुने ग्रहको भिन्नतालाई देखाइरहेछ ।

सामान्य मानिसलाई प्रत्येक दिनको बिहानी एउटै जस्तो लाग्छ । उही उज्यालो, उही सूर्योदय, उही वार र वर्षहरूको क्रमतर विशेष मानिसलाई सधैँको बिहान एउटै लाग्दैन । एउटै हुने भए वर्षा र गर्मीको भिन्नता हुने थिएन । जाडोको बिहान र गर्मीको बिहानमा देखिने प्राकृतिक भिन्नता पनि रहने थिएन । जब प्रकृतिले आफ्नो गतिमा परिवर्तन भएको देखाउँछ, तब हामीले एउटै हो भन्ने चिन्तन राख्नु नै त्रुटिपूर्ण ठानिन्छ ।

नेपालको गाउँले समाज संयुक्त परिवारको अवस्थामा छ । त्यसैले हरेकका हजुरबाआमाहरूले नातिनातिनीहरूलाई 'ठूलो बन' भनेर सिकाउँछन् । मलाई सानो छँदा 'ठूलो बन्नू' भनिएको थियो । त्यतिबेला म आफ्नै धूनमा मस्त रहन्थेँ । यिनीहरूले मलाई अग्लो र ठूलो जीउको मान्छे बन भनेका होलान् भन्ने ठान्थेँ । वास्तवमा उनीहरूको आशय त्यस्तो होइन रहेछ । पढाइलेखाइ गरेर समाजको सम्मानित व्यक्ति बन भनेको रहेछ । गाउँमा ठूलो मान्छे भनेको तत्कालीन प्रधानपञ्च वा विद्यालयको शिक्षकलाई मानिन्थ्यो । मलाई पनि त्यस्तै बन्ने रहर लाग्यो । बी.ए. उत्तीर्ण गरिसक्दा त्यो सोचाइ पूरै परिवर्तन भयो । देश चलाउने राजनेता पो ठूला मानिँदा रहेछन् भन्ने लाग्यो । एम.ए. उत्तीर्ण गर्दा नयाँ रहस्य पत्ता लाग्यो । राजनेतालाई घुमाउने वरिष्ठ कर्मचारी हुँदा रहेछन् । ममा पनि हजुरआमाको आज्ञाले त्यतैतिर लाग्ने इच्छा जागृत गरायो ।

कुरो बुझ्दै चुरो फेला पार्न के लागेको थिएँ, घूस नखाने र नखुवाउने मानिस ठूलो कर्मचारी बन्ने रहेनछ । यस्तो थाहा पाएपछि लोकसेवाको तयारी च्यात्त छोडेँ र घूस नखाई ठूलो मान्छे बन्ने ठाउँ खोज्नतिर लागेँ । समुद्रको पीँधमा सियो खसेको भए भेटाउन सजिलो हुन्थ्यो तर मलाई ठूलो के हुन्छ, छुट्ट्याउन सारै असजिलो भयो । विद्यार्थीका लागि विद्या ठूलो, जागिरेका लागि पद ठूलो, नेतालाई पद सम्मान ठूलो, विद्वान्का लागि मान ठूलो, गरिबका लागि धन ठूलो, समाज बदल्नेका लागि विचार ठूलोलगायत217 यति धेरै ठूला कुरा हुँदा रहेछन् । मलाई छुट्ट्याउनै गाह्रो भयो । धेरै घोत्लिएपछि पैतालाको बल तालुसम्म पुर्‍याएर खोज्दा बल्ल जूनकीरीको जस्तो उज्यालो देखा पर्‍यो । जसलाई जे कुरोको नित्तान्त आवश्यकता छ, त्यसलाई त्यही वस्तु ठूलो मानिने रहेछ ।

सबै मानिसलाई चाहिने गाँस, बास र कपास नै ठूलो मानिने रहेछ । यी कुराको पूर्ति भएकाहरूलाई उनीहरूको चाहना, उद्देश्य र ल73यमा पुर्‍याउने वस्तु नै ठूलो ठहरिने रहेछ । यसरी विचार गर्दा दुईप्रकारका ठूला कुरा हुँदा रहेछन् । एक, सबैलाई अत्यावश्यक पर्ने कुरा217 दुई, कसैकसैलाई मात्र चाहिने कुरा । अब फेरि मलाई 'खाई नपाई छालाको टोपी लाई' भनेजस्तै यी दुईमा ठूलो केलाई मान्ने, समस्याले च्याप्प घाँटी अठ्यायो । 'बल्ल पर्‍यो निरमाया माकुरी जालैमा' भनेझैँ भएँ । पहिला पढेपछि ठूलो भइन्छ भनेर मरीमरी पढेको217 अहिले एम.ए. उत्तीर्ण गरी जागिर नखाई गाउँघरमा जाँदा म उनीहरूका आँखामा स्वात्तै सानो भएछु । पढेर मात्रै ठूलो भइने रहेनछ भन्ने कुरा त्यतिबेला मात्रै चाल पाएँ । उनीहरूको आँखामा म उपेक्षाको पात्र भएँ ।

मसँग आफ्ना बाउले कमाएको गाँस, बास र कपास थियो ! थिएन भने जागिर मात्रै थिएन । त्यसैले गाउँमा नबसी हान्निएँ सहरतिर । धेरै सङ्घर्ष गरेर जागिर पाएँ । केही नसोची ट्याप्पै समातेँ । अब अरूले मलाई ठूलो मान्लान् नि भन्ने सोचेर दसैँमा गाउँ गएँ । सबैले कति पैसा ल्याइस् भनेर पो सोध्न थाले । मैले पनि नढाँटी सबै भनिदिएँ । उनीहरूले मलाई 'मास्टरमात्रै भइस् !' भनेर खिसि्रक्कै पारे । कत्रो सान हुन्छ भनेको । केको सान र मान, उनीहरूको मनमा रहेको अपमानमात्रै देखियो । अस्थायी जागिर भएकोले स्थायी हुँदा राम्रो मान्नेछन् भन्ने सोचेको थिएँ । त्यो पनि अर्को साल गाउँ जाँदा होइन रहेछ भन्ने थाहा भयो ।

मनमा सधैँ हजुरआमाले 'ठूलो बन्नू' भनेको सम्भि्कन थालेँ । उहाँको सोचाइ के थियो होला भनेर विचार गर्दै थिएँ, 'के ठूलो मान्छेझैँ घोरिएर बसेको, काम गर्न पर्दैन,' मलाई माया गर्नेले एक्कासि झपार्दा बल्ल झल्याँस्स भएँ । खुरूखुरू काम गर्नु नै ठूलो मान्छे बन्ने अभिप्राय हो भने बिनसित्ती किन टाउको दुखाउने, लागेँ म आफ्नो कामतिर । फटाफट दुईचारओटा काम फत्ते गरेँ । यसरी काम गर्दा अरू काम गर्ने साथीहरू फेला परे । मेरो जस्तै उनीहरूको पनि अवस्था रहेछ । त्यसैले कामको प्रकृति हेरी कहिले एक्लै र कहिले सँगै भएर काम गर्न थाल्यौँ । स्वभावैले काम गर्दा फुर्सद हुने कुरै भएन । सधैँभरि कामको चटारो हुन थाल्यो । जति काम गर्‍यो, उति धेरै काम आइलाग्ने मात्र होइन, नयाँनयाँ सोचाइको विकास भयो । कामै नपाउने मान्छे, कामअनुसारको दाम नहुने भए ठाडै काम गर्दैनौँ भनेर अगाडि बढ्न थाल्यौँ । यसरी काम गरेको गरेकै गर्दा केही दाम, थोरै नाम र आंशिक सम्मान पनि हुन थाल्यो । साथीहरूले पनि 'अचेल तिमी ठूलो मान्छे भए जस्ता छौ । फुर्सदै देखिँदैन भन्दा बल्ल होस खुलेको जस्तो भयो ।

आखिर काम नै ठूलो हो भने किन मानिसहरू कामलाई सानोठूलो भनेर छुट्ट्याउँछन्, जर्मन, जापान र अमेरिकामा मात्र होइन चीन, फ्रान्स र बेलायतमा पनि काम गर्नेलाई सम्मान गरिन्छ भन्ने सुनेको छु । विकसित देशले केही नसोची संस्कृति बनाउन्नन् । हामीजस्ता अल्पविकसितले मात्रै परम्पराका थोत्राथाङ्ना विचार बोकेर श्रमलाई सम्मान नगर्दा शक्तिको सदुपयोग नभएको रहेछ । व्यक्तिले क्षमताअनुसारको काम गरिरहे आफ्नो क्षेत्रको ठूलो मान्छे हुइने रहेछ । डाक्टरहरूको ठूलो डाक्टर, इन्जिनियरहरूको ठूलो इन्जिनियर, मास्टरहरूको ठूलो मास्टरमात्र होइन, किसानहरूको ठूलो किसान र मजदुरहरूको ठूलो मजदुर पनि त्यही मान्छेमात्रै हुने रहेछ, जसले आफ्नो कामलाई निरन्तर गरिरहन्छ ।

काम नगर्ने र ठग्ने बानी हामीलाई कसले सिकायो, अचेल म त्यतातिर घोत्लिन थालेको छु तर मलाई को मान्छे ठूलो वा के काम ठूलो भन्ने समस्याले भने फिटिक्कै सताउँदैन । जसले जिम्मेवारीपूर्वक आफ्नो काम गर्छ, त्यही ठूलो मानिने रहेछ । त्यसले समयको गतिलाई चिनेर त्यसको सदुपयोग गरिरहेको हुन्छ र सम्मानको अधिकारी बनेको हुन्छ । कुरो छर्लङ्ग भयो । के यस्तो समस्याले तपाईंलाई पनि सताउने गरेको छ , छ भने यसो घोत्लिनुपर्ला कि <

निबन्ध

निरन्तरताको एउटा अर्को सम्मेलन

  

'सुरू' यस शब्दसँगै सहिदप्रति श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण सुरू भयो . सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गर्नु बिरालो बाँधेर सराद्धे गरेजस्तो भइसक्यो . देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्यागेर समर्पित हुनेहरूको नामावली लामो छ . कसलाई सम्भि्कने कसलाई नसम्भि्कने ? समस्या छ . सबैको नाम सम्भि्कँदै जाँदा सम्भवतः यस्ता कार्यक्रमको एक मिनेट मौनधारणले सहस्रांशको सहस्रांश नओगट्न सक्छ . यसका लागि पूर्ण दिन कम हुन सक्छ . एक मिनेटको के कुरो भयो ? 

   शासक वर्गबाट सहिदको खेती कहिलेदेखि सुरू भयो ? इतिहासले पूर्ण अभिलेख दुरूस्त राखेको पाइँदैन . सम्पूर्ण इतिहास आफैँ अपूर्ण रहँदा सहिदको नामावली पूर्ण हुने प्रश्नै उठ्दैन . यसैले भन्ने गरिन्छ, ज्ञात अज्ञात सहिदहरू . ज्ञातकै सपना र समर्पणले वास्तविक मूल्य नपाएको अवस्थामा अज्ञातका आकाङ्क्षाले फलिभूत हुने अवसर कहाँबाट पाओस् ? जुट्नेभन्दा फुट्ने दर क्रमशः बढ्दो गतिमा छ . सहिदका काँध चढेर उक्लेकाहरू शिखर पुगिसक्छन्, सहिद जहाँको त्यहीँ फेदीमै रहन्छन्; अविचल, असमर्थ, विवश, निरूपाय, असक्त, असंलग्न, तटस्थ, मूकदर्शक . यहाँभन्दा बढी गर्न सक्ने सामर्थ्य कोही सहिदसँग आजसम्म देख्न सकिएको छैन .

   'धन्यवाद' एउटा औपचारिकता पूरा भयो . थाहा छैन, यस्ता औपचारिकता दिनहुँ कति पूरा भए, हुन्छन्, भइरहन्छन् र भइरहनेछन् . एक मिनेटमा सम्पूर्ण सहिदलाई सम्भि्कनु र सम्झी नसक्दै बिर्सिनु एउटा नियमित क्रमिकता भइसक्यो . सहिदका सपनाको कुरो गरिन्छ तर सहिदकै सपना टेकेर निहित स्वार्थको खुड्किलो उक्लिइन्छ . यो कस्तो विडम्बना आइलागेको हो ? 

   डा. ताराकान्त पाण्डेका निम्न शब्दबाट सहभागीहरू स्वागतिँदै थिए– सङ्घमा व्यापक उपस्थिति र सहभागिता भए पनि कार्यालय सञ्चालनमा कठिनाइ छ . ऊर्जा सङ्गठित रूपमा आए यो सबल हुन्छ . समाज रुपान्तरणमा शब्द र कर्ममार्फत क्रियाशील रहने उद्देश्यसहित २००९ सालमा वीरगन्जमा स्थापित यस सङ्घले विभिन्न आरोहअवरोह पार गर्दै आधा दशकको समयावधि पूरा गरिसकेको छ . २०४४ मा पहिलोपटक औपचारिक राष्ट्रिय सम्मेलनमार्फत लेखकको मात्र सहभागितामा जनवादी आन्दोलनलाई सघाउ पुर्‍याउने उद्देश्यसहित यस सङ्घमा सामन्तवाद र साम्राज्यवाद विरोधी चेतना भएका स्रष्टा संलग्न छन् . आर्थिक स्थितिका कारण कतिपय योजना पूरा गर्न नसके पनि विचारगोष्ठी, विधासिद्धान्त र सौन्दर्यशास्त्रसम्बन्धी गोष्ठीहरू सञ्चालन गर्दै आएको सङ्घले खास क्षणमा भौतिकरूपमै राष्ट्रियता र समाजरुपान्तरणको आन्दोलनमा सहभागिता जनाइरहेको छ . जनयुद्धमार्फत राजतन्त्र समाप्त भए पनि सामन्तवाद जिउँदो रहेर केन्द्रमा अस्तित्व स्थापित गर्न प्रयासरत रहेकोले नागरिक सर्वोच्चता सङ्कटमा छ . राजनीति र संस्कृतिका क्षेत्रमा सामन्तवादको अतिक्रमण व्याप्त रहेकोले सङ्घले आगामी दिनमा पनि दायित्व निर्वाह गर्नेछ .

   प्रमुख अतिथि बनेका प्रगतिशील स्रष्टा एवं सङ्घका पूर्वअध्यक्ष आनन्ददेव भट्टबाट बिजुलीको स्विच थिचियो . त्यससँगै भित्तामा छोपिएको ब्यानर सम्पूर्ण दर्शकका सामु प्रस्ट देखियो . कार्यक्रमको उद्घाटन भयो . पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा कार्यक्रम आयोजित भएकोले प्रविधिको चमत्कार धेरै हदसम्म दर्शनीय थियो . धन्न! प्रमुख अतिथिले स्विच थिच्नासाथ जलश्रोतको धनी देशको लोडसेडिङ त्यसैबखत सुरू भएन . संयोग नै मान्नुपर्छ . चमत्कारहरूको देशमा यसलाई अर्को चमत्कार नै मान्नुपर्छ . होइन भने बिजुलीको स्विच अन गर्नासाथ पावर अफ भोगेका कैयौँ भुक्तभोगी यहाँ प्रशस्त छन् . 

   खचाखच भरिएको हलमा सङ्घका अध्यक्ष एवं कार्यक्रमको सभापतित्व गरिरहेका निनु चापागाईंबाट दोसल्ला ओढाएर सम्मान गर्न थालियो . सम्मानित हुनेहरूमा थिए– आनन्ददेव भट्ट, हरिहर खनाल, रामहरि पौडेल र सलिम समदर्शी . दुईजना अनुपस्थित रहेको जानकारीसँगै हरिप्रसाद तिमिल्सिनाद्वारा लिखित 'एक आलोक अनेक तरङ्ग' र 'शब्दशिखा' त्रैमासिकको विमोचन गरियो . 'शब्दशिखा'को सार्वजनिक प्रदर्शन हुनेबित्तिकै 'शब्दाङ्कुर'को विगत सम्झना भयो . 'शब्दाङ्कुर'कै संरचनालाई अनुशरण गरिएको देख्दा सङ्क्षिप्तमा पूर्णता दिने प्रयासको पुनरावृत्ति भएको अनुभूति भयो . प्रयासको थालनी शून्यबाट गरी क्रमशः अगाडि बढ्दै जाने मूल्यलाई पछ्याएजस्तो लाग्यो . घाँटी हेरी हाड निल्ने उखान चरितार्थ गर्न गोरेटो खन्ने कार्यमा समर्थ भएकोले कताकता आनन्द पनि भयो . 

   पुरस्कृत स्रष्टा हरिहर खनाल धन्यवाद बोल्दै थिए– ४५ वर्षको लेखकीय जीवनमा सम्मानित गरिएकोले देश, जनता र सङ्घलाई धन्यवाद दिन चाहन्छु . बाँकी जीवनमा देश र जनता एवं न्यायपूर्ण समाज स्थापनाका लागि कलम चलाइरहनेछु . नयाँ संस्कृति निर्माणमा जुट्न सकूँ . नेकपा एकीकृतका रत्नप्रसाद जोशीले सम्मेलन–सफलताको कामना गर्दै समतामूलक समाजनिर्माणमा लागिपरेको सङ्घमा समानुपातिक प्रतिनिधित्व होस् भन्ने चाहना प्रकट गरे . उनले सङ्घले स्थापित गरेको लोकतान्त्रिक अभ्यासबाट राजनीतिक नेतृत्वलाई समेत मार्गनिर्देश हुने विचार प्रकट गरे . राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीका शब्द थिए– अझै अर्धसामन्ती र अर्धऔपनिवेशिकतामा थिचिएको देशमा लेखककलाकारले गरेको सिर्जनाबाट जनमत सिर्जना हुन्छ र परिवर्तन सम्भव हुन्छ . यही अवस्थामा गणतन्त्र संस्थागत गर्दा बुर्जुवा गणतन्त्र स्थापना हुने भएकोले समाजवाद र साम्यवाद स्थापनापछि मात्र न्यायपूर्ण समाजव्यवस्था स्थापना हुन सक्छ . राष्ट्रियता जगेर्ना गर्न सम्पूर्ण जनता एकजुट हुनु आवश्यक छ . उनैले सङ्क्रमणको समयमा हुन लागेको सम्मेलनले समाजपरिवर्तनका लागि सशक्त नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना दिए . 

   अनुपस्थित स्रष्टा उपस्थित भएपछि पद्मरत्न तुलाधरलाई सम्मान गरियो . त्यसपछि नेकपा एमालेका बेदुराम भुसालका शब्द थिए– ६० वर्षको बामआन्दोलनले राजनीतिकरूपमा केही सफलता प्राप्त गरे पनि गुणात्मकरूपले फड्को मार्न बाँकी छ . हामी राजनीतिक फाँटको तुलनामा सांस्कृतिक फाँटको प्रगतिमा पछाडि छौँ . जातपात, छुवाछुत, वर्गीय, जातीय, लिङ्गीय, भाषिकसाहित्यिक क्षेत्रमा अन्तर्विरोधहरू बाँकी छन् . लेखकीय क्षेत्रमा गर्न बाँकी काम प्रशस्त छन् . वैचारिक हिसाबले समाजपरिवर्तन गर्नका लागि प्रगतिशील लेखकहरूको ठूलो दायित्व छ . नेपालका बामपन्थी लेखकको साझा सङ्गठन यस सङ्घले विचारको आन्दोलनलाई अगाडि बढाओस् . सङ्घले वैचारिक र साङ्गठनिकरूपले प्रभावकारी काम गर्न सकोस् भन्दै एकीकृत नेकपा माओवादीका मोहन वैद्य 'किरण' बोल्दै थिए– विभिन्न कमजोरीका अतिरिक्त लेखकीय ऊर्जालाई सङ्गठित गरी सङ्घले इतिहासमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेको छ . आगामी दिनमा सही ढङ्गले अगाडि बढ्न दुर्बल पक्षमा प्रहार गरी सङ्घ अगाडि बढ्नेछ . राज्य पुनर्संरचनाजस्तै वर्तमान परिवेशमा सङ्घको स्वरूप समावेशी बनोस् . सङ्घले सामन्तवादविरूद्धको आन्दोलनलाई प्रभावकारी ढङ्गले अगाडि बढाओस् . समूहका रूपमा यसलाई खण्डित गर्नु हुँदैन . साझा उपलब्धिका रूपमा रहेको अहिलेसम्मका सम्पूर्ण आन्दोलनलाई खण्डित नगरौँ . साझा मोर्चाका रूपमा रहेको सङ्घलाई प्रगतिशील आन्दोलन कसरी अगाडि बढ्छ भनी छलफलको मोर्चा बनाउनुपर्छ . लोकतन्त्रका पक्षमा सङ्घले सङ्घर्षलाई अगाडि बढाउनु जरूरी छ . नेपाली जनताको गन्तव्य यतिमात्र होइन . मुलुक स्वतन्त्र छ कि छैन भनी हेर्नुपर्ने आवश्यकता छ . सिक्किमको नियति नदोहोरिएला भन्न सकिन्न . यसबारे सङ्घ गम्भीर बनोस् . दुनियाँ बनाउने अभियानमा लागौँ .

   सङ्घले नयाँ नेपाल निर्माणका लागि नीतिनिर्माण गरी कार्यान्वयन गर्नेछ भन्दै शुभकामना प्रकट गरेका खगेन्द्र सङ्ग्रौलाले मार्क्सवादीहरूको सहमतीय साझा थलोका रूपमा रहेको सङ्घले गर्नुपर्ने कार्यका बारेमा विचार व्यक्त गरे . देश राजनीतिकरूपले युद्धतिर गइरहेकोले लेखककलाकारले यथार्थका बारेमा सत्य बोल्नुपर्छ . इतिहासको सङ्कटकालमा तटस्थता हुँदैन . यसैले राजनीतिक अवस्थाको विश्लेषण गर्दै सहकार्य गर्नेहरूका बीच तिक्तता बढ्दै गएकोले दुई भिन्न प्रवृत्तिका बीच सङ्घले विचार व्यक्त गर्नुपर्ने उनको ठहर थियो . तटस्थताका नाममा पाखण्ड–प्रदर्शन गर्न नहुने परिवेशमा सङ्घको दायित्व गम्भीर छ . यसैले सङ्घको नेतृत्व हस्तक्षेप गर्न सक्ने हुनुपर्छ . उनले लेखक सौन्दर्यशील, रचनाशील र अन्वेषक भएकोले जोखिम उठाई आफ्नै पार्टीभित्रको खराब प्रवृत्तिको विरोध गर्न सक्नुपर्छ भने . यसका लागि सङ्घले प्रयास गर्दै नयाँ नेपालको निर्माणका लागि भावी खाका कोर्नुपर्ने र बृहत्तर सामाजिक दायित्वबोध गर्ने नेतृत्व बनाउनुपर्ने विचार प्रकट गरे . सङ्घका संस्थापकमध्येका श्यामप्रसाद शर्माले शुभकामना मन्तव्य थाल्नेबित्तिकै दर्शकश्रोताको ठूलो समूह एक्कासि बाहिरिने क्रम सुरू भयो . सम्भवतः उनले गैरमार्क्सवादीका तर्फबाट प्रदान गरिएको पुरस्कार स्वीकार गरेको प्रतिक्रिया थियो . हुन सक्छ लामो समय आस्थाका लागि सम्पूर्ण समर्पण गरेका संस्कृतिकर्मीको जीवनको उत्तरार्धमा घटित यस घटनाले अनुयायीका मनमा चोट पुर्‍याएको . दर्शकश्रोताको मनोभाव बुझेर होला उनी सङ्क्षिप्तिए .

   आनन्ददेव भट्टले प्रस्तुत गरेको इतिहासअनुसार २०१२ सालमा श्यामप्रसाद शर्मा काठमाडौँ आएपछि उनले नै २०१७ सालसम्म सङ्घलाई गतिशील बनाए . २०१६ सालमा पुनर्गठन भई धर्मराज थापाको अध्यक्षतामा कमलमणि दीक्षित, तारानाथ शर्मा, गोविन्दप्रसाद लोहनी, डी.पी. अधिकारी, कृष्णचन्द्रसिंह प्रधान यस सङ्घमा सम्मिलित भए . २०१७ सालअगि नै पदासिनहरूले पदत्याग गरेपछि र निरङ्कुशता लादिएपछि भूमिगतरूपमा काम गर्नुपर्ने भयो . 'स्वास्नीमान्छे' र 'साहित्य'मा पनि सङ्कट आयो . श्यामप्रसादसँगै २०२४ सालसम्म भूमिगत भएपछि सङ्घले खासै प्रगति गर्न सकेन . २०३६ सालमा बौद्धिक र साहित्यिकहरूको जमघटबाट प्रगतिशील लेखक कलाकार सङ्घका रूपमा पुनर्जीवन पाई २०३७ सालमा जनकपुरमा सम्मेलन भयो . २०४४ सालमा पहिलो राष्ट्रिय सम्मेलनपछि दमनका अतिरिक्त सङ्घले कामलाई निरन्तरता दियो . २०४६ को जनआन्दोलनपछि २०४८ मा दोस्रो राष्ट्रिय सम्मेलन गरेको सङ्घले रमेश विकल आदिको नेतृत्व पाइसकेको छ . भट्टको संभाषण लम्बिँदै जाँदा हलबाहिर सहभागीहरू बाक्लिने क्रम सुरू भयो . आकर्षण उतै थपिँदै थियो . थपियो . 

   यी थिए २०६६ साल जेठ २३ गते सम्पन्न प्रगतिशील लेखक सङ्घ, आठौँ राष्ट्रिय सम्मेलन, उद्घाटनसत्रका केही दृश्यचित्र .