कृतिसमीक्षा
अक्षरको खेतमा डुल्दा
टेकेन्द्र चेम्जोङ
समकालीन नेपाली काव्यसाहित्यमा एक सुपरिचित नाम हो रमेश श्रेष्ठ . त्यसो त कवितासाहित्यमा कमै चासो राख्नेहरूमाझ पनि धेरै कारणबाट उनी लोकप्रिय छन् . निकै लामो समयदेखि नेपाली कवितालेखनमा सशक्त कलम चलाउँदै आएका कवि श्रेष्ठका झन्डै एक दर्जन साहित्यिक कृति सार्वजनिक भइसकेका छन् . कवितामा भावको सुन्दर अभिव्यक्ति दिन सक्ने र बिम्बको प्रयोगमा अनुपम शिल्प भर्न सक्ने श्रेष्ठको पछिल्लो प्रकाशित कृति हो 'अक्षरको खेत' .
कविताको अन्तर्वस्तुका दृष्टिले विविधतापूर्ण तथा चेतनाका हिसाबले उत्तरआधुनिकतायुक्त यस सङ्ग्रहभित्र १० ओटा एकै शीर्षकका र ५० ओटा अन्य शीर्षकका कविता सङ्गृहीत छन् . भाव, कला, चेतना, विद्रोह, विसङ्गति, युगबोध, जीवनदर्शन, मानवताजस्ता सशक्त साहित्यिक अन्तर्वस्तुको इन्द्रियग्राह्य अभिव्यक्तिहरू लटरम्म झुलेका छन् 'अक्षरका खेतमा' .
अक्षरहरूलाई भीरमा लहराउन सकिन्छ, शिरमा सजाउन सकिन्छ . अक्षरहरू खुसीमा नाच्न सक्छन् र दुःखमा तप्कन सक्छन् . अक्षरहरू आफैँमा रमाउन सक्छन् र बाँच्न सक्छन् . केवल साहित्यशिल्प आवश्यक पर्छ . कवि श्रेष्ठका हरेक कविता सौन्दर्यपूर्ण, जीवन्त र यर्थाथको धरातलमा सगर्व उभिएको छ .
कवि श्रेष्ठ भावनालाई सुन्दर आकार दिन्छन् र शब्दमा कलात्मक शिल्प भर्छन् . कविताभित्र भावनाको सुन्दर अभिव्यक्ति र अनुपम कला पाउन सकिन्छ . अर्कोतिर युगौँदेखि पीडाले थिचिएको मन र मस्तिष्कबाट निस्केको चेतनाको झल्कोका कारण कविताहरू युगको आवाज ओकलिरहेको पाउन सकिन्छ . जीवनका विसङ्गति, विकृति अनि भद्रगोल अवस्थाप्रति कविको गम्भीर असहमति छ . गरिबी, अभाव, मानवताविहीनता, भ्रष्टाचारजस्ता समाजका तीता यथार्थलाई कविले नजिकबाट नियालेका छन् . कविको मन सत्तामोह, शक्तिमोह, विद्रोह, क्रान्ति, आतङ्क, सन्त्रासजस्ता राजनीतिक गडबडीले क्षतविक्षत भएको छ .
कविले विगतलाई ब्युँताउन सक्छ, वर्तमानलाई छर्लङ्ग पार्न सक्छ र भविष्य बोल्न सक्छ . कवि उज्यालोको खोजीमा एक्लै भए पनि अँध्यारोमा विद्रोह गाइरहेको हुन्छ . श्रेष्ठका कविताले कतै युग बदल्न चाहन्छ, कतै विद्रोहको गीत गाउँछ त कतै युगौँदेखिको अँध्यारो हटाउन चाहन्छ . जीवन नदीजस्तै लामो यात्रा हो . जीवन आशा, निराशा, जीवन–मृत्युको शाश्वत सत्य हो . कवि श्रेष्ठ जीवनको यथार्थलाई कवितामा उतार्छन् . उनी जीवनप्रति जति संवेदनशील छन्, उति नै मृत्युप्रति सचेत छन् .
'अक्षरको खेत' भावपूर्ण अन्तर्वस्तुहरूको ठोस अभिव्यक्ति हो . व्यक्तिगत एवं नयाँ बिम्बहरूको प्रयोग यसको अर्को पहिचान हो . यो सामाजिक यथार्थ एवं विसङ्गतिहरूको कलात्मक चित्रण हो . युगपरिवर्तनको झन्कार हो र यथास्थितिवादविरूद्ध विद्रोहको बिगुल हो .