कविता
मिलन युग–युग रहनेछ
सर्मिला राई
१. 'बाबु, तेरी दिदी कहिले आउँछे,'
आज फेरि आमाले उही प्रश्न गरी ।
आमाको मलिन र उदास अनुहार देखेर
आश्वासन दिँदै भनेँ,
'शान्ति दिदी चाँडै आउँछे रे
आमा, तपाईं प्रतीक्षा गर्नोस्
भर पर्नोस् ।'
२. यही प्रश्न र उत्तर
हामी दुईबीच
विगत दश वर्षदेखि
हो, विगत दश वर्षदेखि निरन्तर चलिरहेछ
विगत दश वर्षदेखि म
शान्ति दिदीको खोजीमा गीतहरू गाइरहेछु
उनको पुनरागमनको कल्पना गर्दै आइरहेछु
पर क्षितिजपारि देखि उषाको सुनौलो किरण बनेर
धर्तीमा जीवन र खुसीको मुस्कान छरेर
शान्ति दिदी आउनुहुनेछ
सुमधुर सङ्गीत बनेर डाँडाकाँडा कुनाकन्दरा
सहरका गल्लीगल्लीमा छाउनुहुनेछ
हो, एकदिन शान्ति दिदी पक्कै आउनुहुनेछ ।
३. 'कहिले आउँछे रे ऊ मलाई भेट्न,
मेरो तिर्खाएको मनको प्यास मेट्न,'
आमाले फेरि अर्को प्रश्न तेर्स्याई
तब मैले वास्तविकता लुकाउन सकिनँ
उनको सामु झुटो बोलेर शिर उठाउन सकिनँ
र भनेँ,
'त्यो शून्य संसारदेखि
शान्ति दिदी यतैतिर आउँदै छिन् रे
तर दुर्भाग्य आमा
हाम्रै दाजुभाइहरूले
उनको आगमनबाट
उनको उपस्थितिबाट
आफ्नो राक्षसी अस्तित्व गुमाइएला भनेर
दिदी आउने बाटोमा
काँडेतारहरू ओछ्याए रे
पर्खालहरू बनाए रे
विद्युतीय धरापहरू थापे रे
त्यसैले आमा
ती कमजोर शान्ति दिदी
ती एक्ली, अबला शान्ति दिदी
बाटैमा अलपत्र छिन् रे
चर चिन्ता नगर्नुस् आमा,
तपाईंले
मजस्ता शान्तिप्रिय सन्तति पनि जन्माउनुभएको छ
मजस्ता आमाको पीडा बुझ्ने सन्तति पनि जन्माउनुभएको छ
आजैदेखि हामी
ती पर्खालहरू तोड्न लाग्नेछौँ
काँडेतर अनि विद्युतीय धरापहरू पन्छाउन थाल्नेछौँ
हाम्री प्यारी शान्ति दिदीलाई ल्याउनेछौँ
तपाईंसँग अवश्य मिलन गराउनेछौँ
र त्यो मिलन
युगयुगसम्म रहनेछ
जबसम्म संसारको अस्तित्व रहन्छ
हो, त्यो मिलन युगयुगसम्म रहनेछ ।'
नदोहोर्याउने कसम
सइन्द्र सानिध्य
खोटाङ
आज फेरि दोहोर्याउँछु
उही शब्द, जो पहिले–पहिले भन्ने गर्थे
बाबाले, बाजेले र बराजुले
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
सायद,
आफ्नो दुर्गतिले बिचल्लीमा पर्ने
आफन्तको अश्रुबिन्ती देखेर होला
स्वाभिमानी मनले त्यो काम नगर नभनेर होला
कल्पनाको गगनमा उड्दै जाँदा
ठोक्किने पहाड देखेर होला
जो दोहोरिरहने आदतले
आफू बेचिएको बुझेर होला
अर्थात् अरू केही कारणले होला
उही शब्द फेरि दोहार्याउँछु
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
तर,
जुन काम गर्दिनँ भन्दै आएको छु
त्यसैको मूलप्रवाहमा आज पनि
हिजोअस्ति जसरी, प्रवाहित थिए
कसमपछि पनि दोहोर्याउँदै छु
थाहा छैन अब पनि दोहोर्याउन सक्छु
यो कामले मेरो चित्त बुझेकै छैन
त्यसैले त फेरि दोहोर्याउँछु
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
के थाहा तिमीलाई,
म आफ्नो पीडा भुल्नलाई यो काम दोहोर्याउँछु
अनेकन अभावपूर्तिका लागि
एउटा मनयोजना बनाउँछु
अनि असफल योजनाले छट्पटिँदा
यो काम गर्न पुग्छु
जुन काम कहिल्यै गर्दिनँ भनेको हुन्छु
त्यसैले फेरि दोहोर्याउँछु
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
तिमी नबुझी,
विश्वास गर्दैनौ मेरो 'कसम'प्रति
कुन सत्यको विश्वास दिलाऊँ
तिम्रै सल्लाहको मन्दनीले त हल्लेको छु
त्यही सूर्योदयको ज्योतिरुपी आँखा देखेर त
आफैँलाई गलत भनी
अर्काेपटक दोहोर्याएको छु
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
रहर कहाँ हो र ?
सबैको मनले नमानेको काम दोहोर्याउनु
आफ्नै सपनीलाई मृत्युशै174यामा पुर्याउनु
कसम खाँदै फेरि दोहोर्याउनु
बिरूवाले पात थप्नै खोज्छ, घट्न त मान्दैन
सोच्छु बाँच्नुको यो पराकाष्टा हो कि ?
आधार बुझ्नै सकिनँ!
त्यसैले फेरि पनि दोहोर्याउँछु
'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'
(raidurchhim@gmail.com)