मुख्य पृष्ठ
परिचय
हाम्रो अभिमत
कविता
गजल
कथा
व्यङ्ग्य–निबन्ध
कृतिसमीक्षा
निबन्ध
पुस्तकचर्चा
संवाद
समाचार
e-mail me


  कविता

मिलन युग–युग रहनेछ

सर्मिला राई

 

१.     'बाबु, तेरी दिदी कहिले आउँछे,'

            आज फेरि आमाले उही प्रश्न गरी ।

            आमाको मलिन र उदास अनुहार देखेर

            आश्वासन दिँदै भनेँ,

            'शान्ति दिदी चाँडै आउँछे रे

            आमा, तपाईं प्रतीक्षा गर्नोस्

            भर पर्नोस् ।'

२.     यही प्रश्न र उत्तर

            हामी दुईबीच

            विगत दश वर्षदेखि

            हो, विगत दश वर्षदेखि निरन्तर चलिरहेछ

            विगत दश वर्षदेखि म

            शान्ति दिदीको खोजीमा गीतहरू गाइरहेछु

            उनको पुनरागमनको कल्पना गर्दै आइरहेछु

            पर क्षितिजपारि देखि उषाको सुनौलो किरण बनेर

            धर्तीमा जीवन र खुसीको मुस्कान छरेर

            शान्ति दिदी आउनुहुनेछ

            सुमधुर सङ्गीत बनेर डाँडाकाँडा कुनाकन्दरा

            सहरका गल्लीगल्लीमा छाउनुहुनेछ

            हो, एकदिन शान्ति दिदी पक्कै आउनुहुनेछ ।

३.     'कहिले आउँछे रे ऊ मलाई भेट्न,

            मेरो तिर्खाएको मनको प्यास मेट्न,'

            आमाले फेरि अर्को प्रश्न तेर्स्याई

            तब मैले वास्तविकता लुकाउन सकिनँ

            उनको सामु झुटो बोलेर शिर उठाउन सकिनँ

            र भनेँ,

            'त्यो शून्य संसारदेखि

            शान्ति दिदी यतैतिर आउँदै छिन् रे

            तर दुर्भाग्य आमा

            हाम्रै दाजुभाइहरूले

            उनको आगमनबाट

            उनको उपस्थितिबाट

            आफ्नो राक्षसी अस्तित्व गुमाइएला भनेर

            दिदी आउने बाटोमा

            काँडेतारहरू ओछ्याए रे

            पर्खालहरू बनाए रे

            विद्युतीय धरापहरू थापे रे

            त्यसैले आमा

            ती कमजोर शान्ति दिदी

            ती एक्ली, अबला शान्ति दिदी

            बाटैमा अलपत्र छिन् रे

            चर चिन्ता नगर्नुस् आमा,

            तपाईंले

            मजस्ता शान्तिप्रिय सन्तति पनि जन्माउनुभएको छ

            मजस्ता आमाको पीडा बुझ्ने सन्तति पनि जन्माउनुभएको छ

            आजैदेखि हामी

            ती पर्खालहरू तोड्न लाग्नेछौँ

            काँडेतर अनि विद्युतीय धरापहरू पन्छाउन थाल्नेछौँ

            हाम्री प्यारी शान्ति दिदीलाई ल्याउनेछौँ

            तपाईंसँग अवश्य मिलन गराउनेछौँ

            र त्यो मिलन

            युगयुगसम्म रहनेछ

            जबसम्म संसारको अस्तित्व रहन्छ

            हो, त्यो मिलन युगयुगसम्म रहनेछ ।'

 

नदोहोर्‍याउने कसम

सइन्द्र सानिध्य

खोटाङ

आज फेरि दोहोर्‍याउँछु 

उही शब्द, जो पहिले–पहिले भन्ने गर्थे

बाबाले, बाजेले र बराजुले

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

सायद,

आफ्नो दुर्गतिले बिचल्लीमा पर्ने 

आफन्तको अश्रुबिन्ती देखेर होला

स्वाभिमानी मनले त्यो काम नगर नभनेर होला

कल्पनाको गगनमा उड्दै जाँदा 

ठोक्किने पहाड देखेर होला

जो दोहोरिरहने आदतले 

आफू बेचिएको बुझेर होला

अर्थात् अरू केही कारणले होला

उही शब्द फेरि दोहार्‍याउँछु

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

तर, 

जुन काम गर्दिनँ भन्दै आएको छु 

त्यसैको मूलप्रवाहमा आज पनि 

हिजोअस्ति जसरी, प्रवाहित थिए

कसमपछि पनि दोहोर्‍याउँदै छु

थाहा छैन अब पनि दोहोर्‍याउन सक्छु 

यो कामले मेरो चित्त बुझेकै छैन

त्यसैले त फेरि दोहोर्‍याउँछु 

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

के थाहा तिमीलाई,

म आफ्नो पीडा भुल्नलाई यो काम दोहोर्‍याउँछु

अनेकन अभावपूर्तिका लागि 

एउटा मनयोजना बनाउँछु

अनि असफल योजनाले छट्पटिँदा 

यो काम गर्न पुग्छु

जुन काम कहिल्यै गर्दिनँ भनेको हुन्छु

त्यसैले फेरि दोहोर्‍याउँछु

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

तिमी नबुझी,

विश्वास गर्दैनौ मेरो 'कसम'प्रति

कुन सत्यको विश्वास दिलाऊँ 

तिम्रै सल्लाहको मन्दनीले त हल्लेको छु 

त्यही सूर्योदयको ज्योतिरुपी आँखा देखेर त

आफैँलाई गलत भनी 

अर्काेपटक दोहोर्‍याएको छु

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

रहर कहाँ हो र ?

सबैको मनले नमानेको काम दोहोर्‍याउनु

आफ्नै सपनीलाई मृत्युशै174यामा पुर्‍याउनु 

कसम खाँदै फेरि दोहोर्‍याउनु

बिरूवाले पात थप्नै खोज्छ, घट्न त मान्दैन

सोच्छु बाँच्नुको यो पराकाष्टा हो कि ? 

आधार बुझ्नै सकिनँ!

त्यसैले फेरि पनि दोहोर्‍याउँछु

'कसम अबदेखि यो काम कहिल्यै गर्दिनँ .'

(raidurchhim@gmail.com)

कविता

जीवनभाव

सुभाषचन्द्र भण्डारी

मध्यबानेश्वर, काठमाडौँ

 

कल्कल् बगेझैँ नदनाद पानी

बग्दै छ हाम्रो जनजिन्दगानी

कथा–व्यथा जीवनका तरङ्ग

फिक्का कतै देख्छु प्रगाढ रङ्ग ।

 

घुटुक्क प्यूँझैँ रसकाव्य धारा

छ काव्यको जीवन नै सहारा

अनन्त यै जीवन व्याप्त देखेँ

सौन्दर्य देखेँ लयदार लेखेँ ।

 

कतै छ हाँसो परिजात गाढा

इबी कतै अश्रु विषाक्त काँढा

म भन्छु हो जीवन खेलजस्तै

सन्तोषले आत्म रहन्छ मस्तै ।

 

यो जिन्दगीको मन सारथी हो

स्वतन्त्रता सुन्दर आरती हो

मान्छे भयो जीवनमार्ग शिल्पी

उन्नीत आभा छ अझै प्रगल्भी ।

 

राजा र रैती सम जिन्दगी हो

रून्चे र पिन्चे पनि जिन्दगी हो

थाकी बसेका कति जिन्दगी छन्

मात्ती बसेका कति जिन्दगी छन् । 

 

गोठालुको जीवन प्रेम गीत

सुनेर अर्कै दिल खिच्छ प्रीत

अनेक छन् रूप छटा निविष्ट

क्वै चोर जाली त कुनै प्रबुद्ध ।

 

चङ्गा, नदी, फूल र पत्रतुल्य

यो जिन्दगी हो फल जो अमूल्य

जीवन् लता अमृत फल्नुपर्छ

पापिष्ट सत्ता सब ढल्नुपर्छ ।

 

समुद्र हो जीवन हो जहाज

आयाम सिङ्गो सगरै विराज

प्रदीप्त क्या जीवन दीपजस्तै

लालित्य उस्तै र सुगन्ध उस्तै ।

 

जहाज जैल्यै पनि डुब्न सक्छ

बत्ती हवाले पनि निभ्न सक्छ

आकाशमा मेघ बढाइँ गर्छ

सत्जिन्दगी शाश्वत बन्नुपर्छ ।

 

झमक्क भो रे झलमल्ल फाटी

डुबेर दिन् खै किन पर्छ राति,

निर्णीत यो जीवन पो कहाँ छ

आश्चर्य छाडेर छलेर जान्छ ।

subhashdoti@gmail.com

 

कविता

मेरो कविता

कृष्ण अधिकारी 'चिन्तित'

भरतपुर ७, चितवन

 

जीवनको सेरोफेरोको घेरोभित्र

हराएर लेखिएको मेरो कविता

जीवनको कथा र व्यथाको अप्ठ्यारोभित्र

डराएर लेखिएको मेरो कविता

भावनात्मक देखिए पनि

कवितात्मक नदेखिन सक्छ

कविताले मेरो मन छोयो भन्दैमा

अरूको नछुन सक्छ

मेरो मन रोयो भन्दैमा

अरूको नरून सक्छ

छुनै पर्ने रूनै पर्ने

अनिवार्य सर्त पनि त छैन कवितामा

मनलाई कसिलो बनाएर लेखेँ

आँखालाई रसिलो बनाएर लेखेँ

मुहारलाई हँसिलो बनाएर लेखेँ

ममताको भोक हटाउन लेखेँ

आत्मीयताको तिर्खा मेटाउन लेखेँ

दुःखमा दुःखसँगै रमाएर लेखेँ

सुखमा सुख समाएर लेखेँ

मुटुभरि पीडाको घाउ बोकेर लेखेँ

पानाभरि मनको वेदना पोखेर लेखेँ

कवितालाई उत्कृष्टताको तराजुमा जोखिनँ

मैले रोजी–रोजी केही देखिनँ

खोजी–खोजी केही लेखिनँ

जे भेटिन्छ त्यसैलाई देखेँ

जे देखिन्छ त्यसैलाई लेखेँ

मान्छे भन्नु समयको दास न हो

समयले जता लान्छ त्यतै जानुपर्छ

समयले जस्तो दिन्छ त्यस्तै खानुपर्छ

समयले पस्किएर दिएको भागलाई

सहर्ष स्वीकार गर्न बाध्य छ मान्छे

वेदनाले जतिसुकै अचेटिए पनि

समयको गतिसँगै घचेटिनुपर्छ

समयले खटाएको ठाउँमा अँटाउनै पर्छ

खुसी र आनन्दमा रमाउने आश

निरन्तर त्रासमा परिणत भएको छ ।

डायस्पोरा

मेरी आमा र कान्छी

केदार श्रेष्ठ 'गगन'

भीमस्थान ५, सिन्धुली

हाल : अनेसास यु.ए.ई. च्याप्टर

 

पक्षीझैँ यो मन उडेर जान्छ आमाको काखैमा

नरूनू कान्छी फर्केर आउँछु बसौँला साथैमा ।

 

कहिले भेट्नु, कहिले छुट्नु समय नियति

गाउँबेँसीं गर्दै, हाँस्दै र खेल्दै साटौँला पिरति

धन कमाई ल्याई तिमीलाई दिऊँला सुनको जुहार

आमालाई सम्झाई घरव्यवहार हेर्दै पर्खनू पियार ।

 

डाँडापारिको जूनजस्ती आमा आउँछ आँखैमा

आमाको काख, कान्छीको हात सम्झना साथैमा

सपना देख्छु भुरूरू उडी चन्द्रमा छोएको

समुद्रपारि कल्पना गर्छु साथैमा भएको ।

ksgagan_2041@yahoo.com

  यात्रारम्भ

जिन्दगीको अनौठो खेल

सुमित्रा काफ्ले

भक्तपुर

 

सपना सुन्दर जिन्दगीका घुमिरहन्छन् वरिपरि

कर्तव्य र जिम्मेवारीहरू झकझक्याउँछन् सधैँभरि

इच्छा र आशाहरू उब्जन्छन् मनमा सदासदा

सपना र कर्तव्यबीचको जिन्दगीको अनौठो खेल ।

 

इच्छासँग अघि बढ्दा कर्तव्य नै छाडिन्छ कि,

सपनामै डुबिरहँदा यथार्थ नै भुलिन्छ कि,

सपना र कर्तव्यलाई एकैसाथ लान खोज्दा

परिवार र आफ्नाबाटै टाढिन्छ कि,

 

एकको पक्ष लिँदा यहाँ अर्को रिसाइदिन्छ

अर्कोको पक्ष लिँदा तेस्रो शत्रु भइदिन्छ

सबैलाई रिझाएर राख्न गाह्रो जिन्दगीमा

कसैको भावना नतोडी हिँड्न गाह्रो यहाँ ।

 

स्वार्थी भए सबै यहाँ विरोधी भइदिन्छन्

उदारवादी भए यहाँ आफैँलाई कुल्चिदिन्छन्

जिन्दगीको साह्रै अनौठो यो चाल

हुन्छ जीवन त्यसै नै बेहाल ।

 

कहिले इच्छालाई कुल्चेर हाँस्नुपर्दो रहेछ

कहिले आफूलाई नै मारेर खुसी दिनुपर्दो रहेछ

कहिले आफ्नासँग नै लड्नुपर्दो रहेछ

कस्तो खेल यो जिन्दगीको खेल्नुपर्दो रहेछ ।

 

आफ्नो लागि यहाँ आफैँ गर्नुपर्छ

आफैँ जल्नुपर्छ अनि आफैँ मर्नुपर्छ

पिउनुपर्छ आँखाको आँसु पानीसरि

यस्तै पहेली रहेछ यो जिन्दगानी ।