दाम, काम अनि नाम र हाम ?
सम्राट् श्रेष्ठ
'हे दैव ! के भएको मलाई मात्रै !' बाटुली रुँदै छोरा च्यापेर कान्छीको पछिपछि तारेभिरतिर लागी .
सामान्यतः काम गरेपछि दाम कमाइन्छ अनि नाम . काम गर्नेबित्तिकै दाम कमाइहाल्ने र दाम कमाउनेबित्तिकै नाम पनि चाहिहाल्ने . काम पनि हेर्नुका हुन्छन् . कुनै काम गर्दा दामभन्दा नाम रहने खालका हुन्छन् भने कुनै काम जति दाम कमाए पनि नाम नरहने खालका हुन्छन् . फेरि पनि मानिस दाम र नाम कमाउनकै लागि मरिहत्ते गर्छन् .
काम गरेर दाम कमाई नाम राख्ने ध्याउन्नमा लागेकामध्ये कतिका भने सपना सपनामा मात्र सीमित रहँदा जीवन निरश भएको छ . आफूले ताक्ने मुढो तर नकचरो बन्चरो भने ताक्ने घुँडो! के गर्नु ? जति सोझो भएर ध्यू तान्न खोज्यो उति ध्यू झक्न गाह्रो . पुर्पुरोमा लेखेको भए पो तान्न सकिन्छ! पुर्पुरोमै नलेखेपछि के लाग्छ ? काम पाउने आशामा दाम चढाउने कसरत गर्दा पनि केही सीप नलागेर त्यै चढाएको दाम अभिसाप बनेर बदनाम भएपछि पछुताउँदै दिक्क मान्नेहरू पनि भेटिन्छन् . जाबो एक रूपियाँको दामले गर्दा आफूले कमाएको जीवनभरको नाम बदनाम भएपछि जुनसुकै दरको सिक्का देख्दा पनि त्यै दाम सम्झेर झसङ्गझसङ्ग झस्किने बानी परेकाहरू भविष्यमा कतै दाम नचढाउने सोचमा पुग्दा हुन् .
जीवनभर कहिल्यै क्यै लछारपाटो नलाए पनि तालुमा आलु फलेको छ भने काकताली परेर पनि नाम कमाइन्छ तर अपुताली र काकताली परेर कमाएको नामको महङ्खवभन्दा नियमितता नै श्रेयस्कर र दिगो हुन्छ . बुद्धि पुर्याउन नसक्नेलाई बुद्धिमा बिर्को लागेको भनिन्छ तर यथार्थमा बुद्धिमा बिर्को लगाउने कुनै त्यस्तो बिर्को बनेकै छैन . बुद्धि पुर्याएर काम गर्नेले सानै कामबाट पनि नाम अनि दाम कमाउन सक्छ . यसर्थ काम कुन साइजको छ भनी आँकलन गरी थालनी गरिँदैन बरू कसरी सफल गर्न सकिन्छ ? त्यो विचार गरिन्छ . र नै सफल हुने बढी मौका मिल्छ . आफू अगाडि सफलताका प्रशस्तै सम्भावना देखेर पनि दिग्भ्रमित भई बाटो पहिल्याउन नसक्दा जुरेको नाम पनि न्वारान नै नगरी हराएर जान्छ . उदाहरणका लागि हाम्रो संविधानसभाका एक प्रतिनिधिको जीवनमा यस्तै घटना घटेछ . कहिले बोलीको गोली त कहिले कताको टोलीले बन्दाबन्दैको तान पनि बीचमै स्थगित हुन पुगेछ . जीवनभर त्याग र तपस्या गरी कमाएको साख जाबो एउटा दामले बदनाम गरी कमाएको नामसमेत स्वाहा पारेछ . दाम नचढाए पनि जीवनभरको राजनीति दाउमा पर्ला कि भन्ने पीरले घर गरेकाले अरूकै सिको गरी फुत्त दाम निकालेर पाउमा राखी लम्पसार परिहाल्नुभयो आखिर त्यसैले चार चित्त खानुभयो . झक्कुले भक्कु मार्दा पनि नपुगेर कहिल्यै नाम नसुनेकाले समेत दोब्य्राए . देशको प्रमुखको दाबेदारी गर्ने बेलामा आफ्नै पङ्कितको कमान्डसमेत गुमाउनुपर्यो .
दाम र नाम कमाउने चाहना सबैमा हुन्छ . यस देशमा हरेक व्यक्तिमा नाम अनि दाम कमाउने चाहना छ . कतिले त्यसैअनुरूप काम गरी नाम अनि दाम दुवै कमाए . कतिले नाममात्र कमाए भने कतिले दाममात्र . नाम र दाम कमाउँछु भन्ने काम नगरी बस्ने हो भने त्यो केवल एउटा तीतो सपना अनि तासको महल हुन्छ . हावाको एक झोकामा सब छरपस्ट हुन्छ . नाम कमाउने चाहना ममा पनि छ . ममात्रै नभएर सडकमा हिँड्ने बटुवादेखि ढँटुवा अनि बाख्रागोठालादेखि लिएर भैँसीगोठालोसम्ममा छ . आज हाम्रो देशमा भैँसीगोठालो पनि देशको प्रमुखका रूपमा आसिन छन् . उनले त्यसका लागि कडा परिश्रम अनि राम्रो काम गरे अनि सम्मानीय पदमा आसिन भए .
हामी पनि यसबाट सिक्न सक्छौँ, राम्रो काम सकारात्मक सोचका साथ गर्यौँ भने पक्कै नाम अनि दाम कमाउन सकिन्छ . तर हाम्रो देशमा अराजक अनि भ्रष्ट तङ्खवहरूले भ्रष्टाचार गरी टन्न दाम त कमाए, जुन कहिल्यै दिगो हुन सकेन .